आजको मौसम : देशभर बदली, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज देशभरको मौसममा बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

मौसमको अवस्था तथा सम्भावित जोखिमबारे थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागले नियमित मौसम तथा बाढीसम्बन्धी सूचना हेर्न आग्रह गरेको छ।

प्रतिक्रिया