एन्टिमाइक्रोबियल औषधिको उपभोगसम्बन्धी तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड

hitkhabar.com


काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल औषधिको उपभोगसम्बन्धी तथ्याङ्क नियमित रूपमा सङ्कलन तथा विश्लेषण गरी प्राप्त निष्कर्षलाई प्रमाणमा आधारित नीतिगत निर्णयमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

एन्टिमाइक्रोबियल औषधि उपभोगसम्बन्धी तथ्याङ्क सङ्कलन तथा प्रसार कार्यशालालाई सम्बोधन गर्दै मन्त्री मेहताले औषधिको उपभोगसम्बन्धी तथ्याङ्कको व्यवस्थित अभिलेखीकरण र विश्लेषणले स्वास्थ्य क्षेत्रको नीति निर्माण तथा औषधि व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभएको हो।

कार्यशालामा सन् २०१६ देखि २०२४ सम्मको एन्टिमाइक्रोबियल औषधि उपभोगसम्बन्धी तथ्याङ्क प्रस्तुत गर्नुका साथै त्यसबारे छलफल गरिएको थियो। सोही अवसरमा राष्ट्रिय अत्यावश्यक औषधिको सूची (National List of Essential Medicines) को सातौँ संशोधनसमेत सार्वजनिक गरिएको छ।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधानलगायत सम्बन्धित सरकारी अधिकारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया