आजदेखि १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

hitkhabar.com


काठमाडौं। नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा ल्याएको छ। पूर्व गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर सहित छापिएको यो नोटको सङ्केत नम्बर २० क ०००००१ देखि ४० घ ९९९९९९ सम्म रहेको बैंकले जनाएको छ।

नोटको बायाँ भागमा सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको वाटरमार्क, र बीचको भागमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा राखिएको छ। त्यससँगै, बीचतिर अशोक स्तम्भ, र दृष्टिविहीन व्यक्तिहरूले छामेर पहिचान गर्न सकिने उठे–कोटिएको कालो थोप्ला पनि छ।

राष्ट्र बैंकका अनुसार नोटमा २ मि.मि. चौडाइको रङ परिवर्तन हुने सुरक्षण धागो प्रयोग गरिएको छ, जसले सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखाउँछ। नोटमा ‘वि.सं. २०८१’ अंकित गरिएको छ।

नोटमा उल्लेख अनुसार, “नेपाल सरकारको जमानत प्राप्त यो नोट प्रस्तुत भएमा राष्ट्र बैंकबाट १०० रुपैयाँ तुरुन्त भुक्तानी पाइनेछ।”

यसअघि २०७६ असोज ७ गतेबाट १०० रुपैयाँका नयाँ नोट चलनमा ल्याइने भनिए पनि, बैंकले १८ ओ ०००००१ देखि १९ क १९ ०३४५०० सम्मका नोट मात्र वितरणमा आएको स्पष्ट पारेको छ।


प्रतिक्रिया