काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
देशका अन्य हिमाली तथा पहाडी भूभागमा पनि आंशिक बादल लाग्ने पूर्वानुमान छ। तराईका भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
तराईका केही स्थानमा भने बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
महाशाखाका अनुसार मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै हिमाली क्षेत्रमा यात्रा गर्ने तथा वर्षा र हिमपातको सम्भावना रहेका स्थानका बासिन्दाले आवश्यक सतर्कता अपनाउनु उचित हुनेछ।