आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

hitkhabar.com


काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहँदा आज अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यस्तै, देशका पहाडी भू–भागका धेरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।

आज राति देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। कोशी प्रदेशको तराईमा साधारणतया बदली तथा बाँकी तराई भू–भागमा आंशिक बदली रहनेछ।

रातिको समयमा हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया