काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि सरकारले रातभरि नै प्रयास जारी राखेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान करिब ४ बजे आयोजना क्षेत्रमा पुनः बाढी आएपछि त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ।
नदीको जलसतह अत्यधिक बढेपछि आयोजना क्षेत्रको किनार तीव्र रूपमा कटान हुन थालेको छ। पछिल्लो अवस्थालाई ध्यानमा राख्दै उद्धार तथा राहत कार्यमा संलग्न टोलीलाई पूर्ण सतर्क अवस्थामा राखिएको छ।
सरकारले आयोजना क्षेत्रमा भएको क्षति तथा पछिल्लो परिस्थितिको स्थलगत अवलोकन गर्दै बाढी र पहिरोका कारण थुप्रिएको माटो तथा लेदो हटाउन डोजर र अन्य भारी उपकरण पुनः परिचालन गर्ने तयारी गरेको छ।
यसैबीच, पहिरो तथा माटोले पुरिएको त्रिशूली–३ ‘ए’ को टनेल पोर्टल र पावर हाउस क्षेत्रबाट महत्वपूर्ण विद्युतीय उपकरण सुरक्षित रूपमा निकाल्ने तयारी पनि भइरहेको छ।
आयोजना क्षेत्रको टनेल पोर्टल तथा पावर हाउसको निगरानीका लागि प्रयोग हुँदै आएका १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर तथा सेटअप बक्स सुरक्षित रूपमा निकाल्न सरकारले हेलिकप्टरमार्फत ‘स्पेशल फोर्स’ परिचालन गर्ने तयारी गरेको छ।
सडकमार्गबाट आयोजना क्षेत्रमा पुग्ने पहुँच अवरुद्ध भएकाले पुरिएको भवन नजिकै हेलिकप्टरबाट उद्धार टोली उतारेर ती महत्वपूर्ण उपकरण सुरक्षित स्थानमा निकाल्ने तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।