काठमाडौं । भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका रवीन्द्र ढाँट स्वदेश फर्किएका छन् ।
बझाङका ढाँट सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । उनको स्वागतमा दर्जनौं समर्थक विमानस्थल पुगेका थिए ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मैदानमा छिरेपछि डर आफैं हराएको बताए ।
“भित्र छिरेपछि जुध्ने हो, लड्ने हो, जसरी नि ढाल्ने हो भन्ने सोच थियो,” उनले भने, “सरकारलाई केही भन्दिन, तर दर्शकहरूले दिएको मायाले अझ धेरै राम्रो गर्न प्रेरणा मिलेको छ ।”
रवीन्द्रले देशवासीका लागि अझ उत्कृष्ट प्रदर्शन गर्नुपर्ने जिम्मेवारी अनुभव भएको बताए ।
आइतबार राति भारतका चोंगरेंग कोरेनलाई पराजित गर्दै ढाँट बान्टमवेट च्याम्पियन बनेका थिए ।
यो जितसँगै उनले व्यावसायिक रेकर्ड ८–१ मा पुर्याए। उनले कोरेनको लगातार पाँच जितको शृङ्खला पनि तोडे ।
नेपालको मिश्रित मार्सल आर्ट्स (एमएमए) इतिहासमै यो विजय एक ऐतिहासिक उपलब्धि मानिएको छ ।