पश्चिमी वायुको प्रभाव कायम, देशका विभिन्न क्षेत्रमा वर्षा र चट्याङको सम्भावना

hitkhabar.com


काठमाडौं । देशमा पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक फैलिएको न्यून चापीय रेखाको प्रभाव कायम रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ। मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाका अनुसार रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनीको तराई र कोशी तथा बागमती प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


प्रतिक्रिया