जेन–जी पुस्ताको त्याग र बलिदान सम्झिँदै रिमा श्रेष्ठले ल्याइन् ‘देशको शान’

hitkhabar.com


काठमाडौं । गीतकार रिमा श्रेष्ठले जेन–जी आन्दोलनमा ज्यान गुमाएका सपुतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै देशभक्तिपूर्ण गीत ‘देशको शान’ सार्वजनिक गरेकी छन्।

प्रवासमा रहेर पनि नेपाली भाषा, कला, संस्कृति र संगीतसँग निरन्तर जोडिँदै आएकी श्रेष्ठले पछिल्लो सिर्जनामार्फत जेन–जी पुस्ताले देशमा परिवर्तनका लागि गरेको संघर्ष, त्याग र बलिदानलाई भावनात्मक रूपमा प्रस्तुत गरेकी हुन्।

पेशाले आईटी इन्जिनियर रहेकी श्रेष्ठ लामो समयदेखि गीत–संगीत तथा साहित्यिक सिर्जनामा सक्रिय छिन्। उनले आफ्ना सिर्जनाहरू ‘रिमा श्रेष्ठ वर्ल्ड’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गर्दै आएकी छन्। प्रवासको व्यस्त जीवनका बीच पनि नेपाली मौलिकता, संस्कृति र पहिचानसँग जोडिएका सिर्जनालाई निरन्तरता दिँदै आएकी श्रेष्ठ सामाजिक तथा सांस्कृतिक गतिविधिमा समेत सक्रिय रहँदै आएकी छन्।

‘देशको शान’ गीतमा सनिश श्रेष्ठको स्वर रहेको छ भने दिनेश श्रेष्ठले संगीत संयोजन गरेका छन्। गीतको कम्पोजिसन कल्याण सिंहले गरेका हुन्। गीत डी स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतको म्युजिक भिडियोमा रोहन श्रेष्ठको अभिनय रहेको छ। युनिक कोइरालाले छायांकन गरेको भिडियोको सम्पादन विकास दाहालले गरेका छन्। चर्चित म्युजिक भिडियो निर्देशक सोनाम पाख्रिनले भिडियो निर्देशन गरेका हुन्। गीतका निर्माता कुशल गुरुङ रहेका छन्।

देशप्रेम, परिवर्तनको चाहना, त्याग र बलिदानलाई मुख्य विषय बनाइएको ‘देशको शान’ले जेन–जी पुस्ताको आवाज र देशप्रतिको जिम्मेवारीलाई गीत तथा दृश्यमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ।

विशेषगरी नयाँ पुस्ताले उठाएको परिवर्तनको आवाज र त्यस क्रममा भएको मानवीय क्षतिलाई गीतले भावनात्मक रूपमा उजागर गरेको छ। गीतकार श्रेष्ठले मातृभूमिबाट टाढा रहेर पनि देशमा भइरहेका सामाजिक तथा समसामयिक घटनाप्रति आफ्नो संवेदना सिर्जनामार्फत व्यक्त गरेकी छन्।

नेपाली भाषा, कला, संस्कृति तथा मौलिक भेषभूषाप्रतिको आफ्नो लगावलाई सिर्जनाका माध्यमबाट निरन्तरता दिँदै आएकी श्रेष्ठका लागि ‘देशको शान’ पनि देशप्रेम र सामाजिक संवेदनशीलताको अभिव्यक्ति बनेको छ।

प्रवासमा बसेर नेपाली समाज, मातृभूमि र नयाँ पुस्ताको भावनासँग जोडिँदै सिर्जना गर्नु श्रेष्ठको सांगीतिक यात्राको महत्वपूर्ण पक्षका रूपमा देखिएको छ। ‘देशको शान’मार्फत उनले मनोरञ्जनसँगै देश, समाज र परिवर्तनका लागि योगदान गर्ने युवापुस्ताप्रतिको सम्मानलाई समेत अभिव्यक्त गरेकी छन्।

म्युजिक भिडियो: https://youtu.be/wNm9JziKG8k?list=RDwNm9JziKG8k


प्रतिक्रिया