काठमाडौं । आजदेखि आगामी तीन दिनसम्म लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा अत्यधिक गर्मी हुने सम्भावना रहेको छ। मौसमसम्बन्धी निकायका अनुसार यी क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्न सक्ने अनुमान गरिएको छ।
यस अवधिमा ती क्षेत्रका तराई भू–भागमा मध्यम स्तरको तातो हावाको लहर (हीट वेभ) समेत चल्न सक्ने सम्भावना रहेको जनाइएको छ। अत्यधिक गर्मी र तातो हावाका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीर असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्राधिकरणले विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामी व्यक्तिहरूलाई दिउँसोको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन र गर्मीबाट बच्ने उपाय अपनाउन अनुरोध गरेको छ।
साथै, विपद् व्यवस्थापनसँग सम्बन्धित सबै निकायलाई आवश्यक पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन पनि अनुरोध गरिएको छ।