स्वास्थ्यमा जटिलता नआए सोमबार ओलीको पित्तथैलीको अपरेशन हुने

hitkhabar.com


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को पित्तथैलीमा देखिएको पत्थरीको अपरेशन सोमबार गर्ने तयारी गरिएको छ।

त्रिवि शिक्षण अस्पताल का अनुसार हालसम्म गरिएको स्वास्थ्य परीक्षणको नतिजा सन्तोषजनक रहेको छ। चिकित्सक टोलीले स्वास्थ्य अवस्था स्थिर रहे सोमबार अपरेशन गर्ने तयारी गरेको जनाएको छ।

डा. सुवास आचार्यका अनुसार सबै आवश्यक परीक्षण सम्पन्न भइसकेको छ र हालको अवस्थामा कुनै ठूलो जटिलता नदेखिएको भए अपरेशन अघि बढाइनेछ।

स्वास्थ्यमा समस्या देखिएपछि ओली केही दिनयता अस्पतालमै उपचाररत छन्। उपचारका क्रममा पित्तथैलीमा पत्थरी रहेको पुष्टि भएपछि चिकित्सकहरूले अपरेशनको तयारी अघि बढाएका हुन्।

यसअघि चैत १३ गते भक्तपुरस्थित गुण्डु निवासबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। पछि स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

पछि सर्वोच्च अदालत को आदेशअनुसार चैत २६ गते उनलाई जिम्मा जमानीमा रिहा गरिएको थियो। तीनपटक मिर्गौला प्रत्यारोपण गरिसकेका ओली हाल निरन्तर चिकित्सकीय निगरानीमा रहेका छन्।

प्रतिक्रिया