काठमाडौं । हाल देशभरको मौसम प्रणाली पश्चिमी तथा स्थानीय वायुको प्रभावमा रहेको छ भने नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा सक्रिय न्यून चापीय क्षेत्र र पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव कायम रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङ्गसहित असिना पर्ने र मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मौसमविद्ले सम्भावित वर्षा, चट्याङ्ग र हावाहुरीका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।