काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग जुटिरहेका बेला सरकारले सहयोग रकम संकलन गर्दा अनधिकृत क्यूआर कोड र व्यक्तिगत बैंक खाताबाट सावधान रहन आग्रह गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक सूचना जारी गर्दै केही व्यक्ति, समूह तथा संस्थाले जथाभावी अनधिकृत क्यूआर कोड तथा व्यक्तिगत बैंक खाता नम्बर सार्वजनिक गरी रकम संकलन गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सरकारले विपद्को कठिन परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन तथा सम्भावित वित्तीय ठगीबाट बच्न सरकारले सार्वजनिक गरेको आधिकारिक खाता तथा क्यूआर कोडमार्फत मात्रै आर्थिक सहयोग गर्न आग्रह गरेको छ।
कार्यालयका अनुसार आर्थिक सहयोग गर्दा खाताको नाममा ‘PRIME MINISTER DISASTER RELIEF FUND’, ‘DISASTER RELIEF FUND’ वा ‘PDPU’ उल्लेख भएको आधिकारिक खातामार्फत मात्र सहयोग गर्न अनुरोध गरिएको छ।
सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्राप्त हुने सहयोगलाई पारदर्शी र व्यवस्थित रूपमा परिचालन गर्न यस्तो अपिल गरेको हो। भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्र प्रभावित भएका छन् र सरकारले उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले जारी गरेको सूचनामा विपद्को नाममा हुने अनधिकृत रकम संकलनबाट जोगिन र आधिकारिक माध्यमबाट मात्र सहयोग गर्न सबैमा आग्रह गरिएको छ।