पश्चिमी वायुको प्रभाव : हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

hitkhabar.com


काठमाडौं । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा देशभर मौसम आंशिक बदलीको अवस्थामा रहने मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली क्षेत्रहरूमा सामान्य बदली रहनेछ भने पहाडी भू–भागमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रसँगै बागमती प्रदेशका उच्च भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, आज रातिको समयमा पनि हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम मुख्यतया सफा रहने प्रक्षेपण गरिएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहने महाशाखाको भनाइ छ।

मौसमविद्ले विशेषगरी हिमाली तथा उच्च पहाडी क्षेत्रमा यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन सुझाव दिएका छन्। साथै, चट्याङ तथा अस्थिर मौसमका कारण हुन सक्ने जोखिमप्रति सचेत रहन पनि सर्वसाधारणलाई आग्रह गरिएको छ।

प्रतिक्रिया