पश्चिमी वायुको आंशिक प्रभाव : हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावका कारण देशका केही हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली हुनुका साथै हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ। कर्णाली प्रदेशको हिमाली भू-भागमा पनि आंशिक बादल लाग्नेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

रातिको समयमा तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

यस्तै, कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया