काठमाडौं । मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा परी १० जनाको मृत्यु र ६ जना घाइते भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुःख व्यक्त गरेको छ ।
पार्टीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटनामा ठूलो मानवीय क्षति भएको घटनाले आफूहरू स्तब्ध र मर्माहत भएको जनाएको छ ।
काठमाडौंमा व्यवसाय तथा रोजगारीमा संलग्न परिवारका सदस्यहरू एउटै गाडी रिजर्भ गरी छठ पर्व मनाउन घर फर्किने क्रममा भएको उक्त दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका धेरै परिवारलाई एकैपटक शोकमा डुबाएको विज्ञप्तिमा उल्लेख छ । एउटै टोलका पाँच परिवारसम्मका सदस्य गुमाउनुपरेको घटनाले गाउँ र समुदायमा अपूरणीय क्षति पुगेको पार्टीले जनाएको छ ।
रास्वपाले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
पार्टीले घाइतेहरूको प्रभावकारी तथा निःशुल्क उपचारको व्यवस्था मिलाउन, मृतकहरूको पहिचान तथा शव व्यवस्थापनमा आवश्यक सहजीकरण गर्न र शोकसन्तप्त परिवारलाई तत्काल राहत तथा मानवीय सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
सडक दुर्घटना एउटा परिवारको निजी पीडामात्र नभई राज्यको यातायात सुरक्षा प्रणाली र सार्वजनिक जवाफदेहितासँग जोडिएको गम्भीर विषय भएको उल्लेख गर्दै रास्वपाले पीडित परिवारको अभिभावकत्व ग्रहण गरी आवश्यक राहत, सहयोग र सहजीकरण गर्न सरकारलाई आग्रह गरेको छ ।
यस्ता दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सरकारले प्रभावकारी तथा दीर्घकालीन कदम चाल्ने विश्वास व्यक्त गर्दै पार्टीले दुःखद घडीमा पीडित परिवार र सिंगो सुन्दरपुरवासीको साथमा रहने प्रतिबद्धता पनि जनाएको छ ।