पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने

hitkhabar.com


काठमाडौं । देशभर हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बदली रहनेछ भने केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ। साथै अन्य पहाडी तथा हिमाली भू–भागका थोरै स्थान र मधेशसहित कोशी, बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने तातो दिनको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ। मधेश प्रदेशसहित अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

रातिको समयमा गण्डकी प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा तथा मधेश, कोशी, लुम्बिनी र बागमती प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया