काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र जापानको प्रतिनिधि सभा सदस्य शोजी केनइचीबीच शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा सभामुख अर्यालले जापानी सांसद शोजीलाई नेपालमा स्वागत गर्दै गत भदौमा रसुवामा आएको बाढी तथा अन्य विपद्का समयमा जापानले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरे।
नेपालमा विपद् आएको सुरुवाती समयदेखि नै जापानले देखाएको चासो तथा राहत, उद्धार र प्राविधिक सहयोगको सभामुख अर्यालले प्रशंसा गरे। विपद्को प्रभाव लामो समयसम्म रहन सक्ने भएकाले पुनर्स्थापना र पुनर्निर्माणका क्रममा पनि जापानको निरन्तर सहयोग तथा सहकार्य आवश्यक रहेको उनले बताए।
सभामुख अर्यालले सङ्घीय संसद् सचिवालयले जापानसहित विभिन्न मुलुकका संसद्सँगको सम्बन्धलाई थप मजबुत बनाउन संसदीय मैत्री समूह गठन गरेको जानकारी पनि गराए।
भेटमा जापानी प्रतिनिधि सभा सदस्य शोजी केनइचीले नेपालले भोगिरहेको विपद्को पीडामा जापान आफ्नो क्षमताअनुसार सहयोग गर्न तयार रहेको बताए। जापानले पनि विगतमा यस्तै प्रकृतिका विपद्को सामना गरेको उल्लेख गर्दै उनले विपद्पछिको पुनर्संरचना तथा पुनर्निर्माणमा जापानले हासिल गरेका अनुभव नेपालसँग साझा गर्न इच्छुक रहेको बताए।
विपद्का कारण विशेषगरी प्रभावित नागरिकमा पर्ने मानसिक असर लामो समयसम्म रहन सक्ने उल्लेख गर्दै शोजीले पुनर्स्थापना प्रक्रियामा भौतिक संरचनासँगै नागरिकको मनोसामाजिक अवस्थालाई समेत प्राथमिकता दिनुपर्ने सुझाव दिए।