काठमाडौं । राष्ट्रिय पञ्जीकरणसम्बन्धी सूचना नागरिक एपमा एकीकृत गर्ने प्रक्रिया अघि बढाइएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धविच्छेद दर्तालगायतका व्यक्तिगत अभिलेखहरू एकीकृत प्रणालीमा समावेश गर्ने तयारी भइरहेको सूचना प्रविधि विभागले जनाएको छ ।
विभागका महानिर्देशक श्रीचन्द्र साहका अनुसार हाल प्रारम्भिक चरणका कामहरू अघि बढाइएका छन् र आवश्यक प्राविधिक तयारी पूरा भएपछि सेवा कार्यान्वयनमा ल्याइनेछ । एकीकरणपछि जन्म तथा विवाह दर्ताजस्ता प्रमाणपत्रहरू नागरिक एपमार्फत नै उपलब्ध हुने अपेक्षा गरिएको छ ।
सरकारले डिजिटल सुशासनलाई सुदृढ बनाउने लक्ष्यसहित विभिन्न सार्वजनिक सेवाहरूलाई अनलाइन प्रणालीमा विस्तार गर्ने अभियानलाई तीव्र बनाएको छ । सोही अन्तर्गत निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षार्थीका प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) समेत नागरिक एपबाटै उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको विभागले जनाएको छ ।
त्यसैगरी, नेपाल इन्जिनियरिङ परिषद्सँगको सहकार्यमा परिषद्बाट जारी हुने व्यावसायिक इन्जिनियर प्रमाणपत्र पनि नागरिक एपमार्फत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्ययोजनाअनुसार नागरिक एपमा थप सेवाहरू विस्तार गर्ने लक्ष्य राखिएको छ । यसका लागि ४५ दिनभित्र कार्यान्वयन गर्ने योजना भए पनि मन्त्रालयले तोकिएको समयभन्दा अघि नै काम सम्पन्न गर्न निर्देशन दिएको छ । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नागरिक एपमा सेवाहरू छिटो एकीकृत गर्न विशेष चासो देखाउँदै आवश्यक समन्वय र काम अघि बढाउन निर्देशन दिएका हुन् ।
सरकारले शासकीय सुधारसम्बन्धी कार्ययोजनाअन्तर्गत सार्वजनिक सेवामा पारदर्शिता, सहजता र डिजिटल पहुँच विस्तार गर्ने उद्देश्य लिएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत १०० बुँदे कार्यसूचीको बुँदा नम्बर ३५ मा पनि नागरिक एपमार्फत सेवा विस्तार गर्ने विषय उल्लेख गरिएको छ ।
हाल नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) डाउनलोड गर्न सकिने सेवा सञ्चालनमा आइसकेको छ । थप सेवाहरू समावेश भएसँगै नागरिक एपलाई एकीकृत डिजिटल सेवा प्लेटफर्मका रूपमा विकास गर्ने सरकारी लक्ष्य रहेको छ ।
डिजिटल माध्यमबाट सेवा विस्तार भएपछि सेवाग्राहीलाई समय, खर्च र प्रशासनिक झन्झट कम हुने अपेक्षा गरिएको छ । साथै, सरकारी सेवा प्रवाह अझ पारदर्शी, प्रभावकारी र आधुनिक बन्ने विश्वास लिइएको छ ।