सम्राट चौधरी बने बिहारका २४औँ मुख्यमन्त्री, दुई उपमुख्यमन्त्रीसहित नयाँ सरकार गठन
hitkhabar.com
15 Apr 2026
काठमाडौँ । भारतको बिहारमा करिब दुई दशकपछि नेतृत्वमा महत्वपूर्ण परिवर्तन हुँदै सम्राट चौधरी २४औँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका छन्। राजधानी पटना स्थित लोकभवनमा आयोजित एक विशेष समारोहबीच उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। उनी भारतीय जनता पार्टी (भाजपा) बाट पहिलो मुख्यमन्त्री बनेका हुन्।
चौधरीसँगै जनता दल युनाइटेड (JDU) का वरिष्ठ नेता बिजेन्द्र यादव र विजय कुमार चौधरी ले उपमुख्यमन्त्री तथा मन्त्री पदको शपथ लिएका छन्। यससँगै बिहारमा नयाँ सत्ता समीकरण बनेको छ, जसलाई राजनीतिक रूपमा महत्वपूर्ण शक्ति हस्तान्तरणका रूपमा हेरिएको छ।
शपथग्रहण समारोहमा जेपी नड्डा लगायत एनडीए (NDA) गठबन्धनका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। समारोहलाई व्यवस्थित र सुरक्षित बनाउन लोकभवन परिसरमा कडा सुरक्षा व्यवस्था गरिएको थियो।
नयाँ सरकार गठनसँगै बिहारको राजनीतिक गतिविधि तीव्र बनेको छ। विभिन्न राजनीतिक दलका नेताहरूबाट लगातार प्रतिक्रिया आउने क्रम जारी रहेको छ भने आगामी दिनमा सरकारको नीति तथा प्राथमिकताबारे चासो बढेको छ।
विश्लेषकहरूका अनुसार यो नयाँ सत्ता समीकरणले राज्यको विकास, सुशासन र राजनीतिक स्थायित्वमा प्रभाव पार्ने अपेक्षा गरिएको छ। अहिले सबैको ध्यान नयाँ मुख्यमन्त्री चौधरी र उनको नेतृत्वमा बन्ने सरकारको कार्यदिशातर्फ केन्द्रित भएको छ।