आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु

hitkhabar.com


काठमाडौं । मुलुकभर आजदेखि दोस्रो आर्थिक गणना औपचारिक रूपमा सुरु गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गणनाका लागि खटिएका गणक तथा सुपरीवेक्षकहरू सम्बन्धित क्षेत्रमा पुगिसकेका छन्।

निर्धारित कार्यतालिका अनुसार स्थलगत तथ्यांक संकलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस अभियानमा करिब पाँच हजार जनशक्ति परिचालन गरिएको जनाइएको छ।

अर्थ मन्त्रालयले देशको समग्र औद्योगिक तथा आर्थिक अवस्थासँग सम्बन्धित तथ्यांक संकलन गरिने भएकाले सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ। गणनामा उद्योग, व्यापार, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थाको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन तथा सेवा प्रवाहलगायत १८ वटा आर्थिक सूचकसम्बन्धी आधारभूत विवरण समेटिनेछ।

यसक्रममा देशभर दर्ता भएका तथा नभएका साना–ठूला व्यापारिक प्रतिष्ठान, रोजगारी सिर्जना गर्ने उद्यम, स्वरोजगारमा आधारित व्यवसाय, उद्योग, कलकारखाना, गैरसरकारी संस्था, सरकारी निकाय, निजी तथा सरकारी विद्यालय, अस्पताललगायत सबै प्रकारका आर्थिक गतिविधिको विवरण संकलन गरिनेछ।

आर्थिक गणनाको पूर्वतयारीका कामहरू गत फागुन मसान्तमै पूरा भइसकेका छन्। चैत महिनाको सुरुआतमा ७७ जिल्ला र थप सात गरी ८४ वटा कार्यालय स्थापना गरिएका छन्, जसले असार मसान्तसम्म काम गर्नेछन्।

यसअघि विसं २०७५ मा गरिएको आर्थिक गणनामा देशभर करिब ९ लाख २३ हजारभन्दा बढी प्रतिष्ठान तथा व्यवसाय सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक गरिएको थियो।

प्रतिक्रिया