काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना नयाँ पदाधिकारी नियुक्त भएका छन्। प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. धर्मदत्त सुवेदी, रजिस्ट्रारमा प्रकाशचन्द्र खत्री, डिनमा डा. सन्दीप श्रेष्ठ र अस्पताल निर्देशकमा डा. विनम्र विष्ट नियुक्त भएका हुन्।
नवनियुक्त पदाधिकारीहरूले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शपथ ग्रहण कार्यक्रममा मन्त्री मेहताले नवनियुक्त पदाधिकारीलाई आफ्नो जिम्मेवारी इमानदारी, पारदर्शिता र सेवामुखी भावनाका साथ निर्वाह गर्न आग्रह गरिन्।
उनले प्रतिष्ठानको सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै स्वास्थ्य तथा चिकित्सा शिक्षाको क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्न नवनियुक्त पदाधिकारीको भूमिका महत्वपूर्ण हुने बताइन्।
चारै जना पदाधिकारीले प्रतिष्ठानको शैक्षिक तथा स्वास्थ्य सेवा प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आफ्नो जिम्मेवारीअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।