काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यस्तै, देशका पहाडी भू-भागका धेरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
देशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
आज राति हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा पनि साधारणतया बदली रहनेछ भने बाँकी तराई भू-भागमा आंशिक बदली रहने पूर्वानुमान छ।
राति हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्नेछ।
त्यस्तै, कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले भारी वर्षा तथा हावाहुरीको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।