कोशीमा धेरै भारी वर्षाको चेतावनी, बागमती–गण्डकीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेकाले विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, मधेश प्रदेशका अधिकांश स्थान, लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्र, कर्णाली तथा सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थान र सुदूरपश्चिमको तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थान, मधेश प्रदेशका केही क्षेत्र तथा कोशी, बागमती र गण्डकीका तराई र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज राति पनि देशका अधिकांश क्षेत्रमा मनसुनी गतिविधि कायमै रहने पूर्वानुमान गरिएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ।

रातिको समयमा कोशी र बागमती प्रदेशका हिमाली भू–भागका धेरै स्थान, गण्डकीका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यस्तै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराईका धेरै स्थान, लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाका अनुसार आज राति विशेषगरी कोशी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरो जोखिमयुक्त क्षेत्र तथा डुबान हुन सक्ने स्थानमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया