काठमाडौं । देशभर अहिले पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ। यसका कारण आज देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने जनाएको छ। साथै मधेश प्रदेश, कोशी प्रदेशको तराई क्षेत्र तथा अन्य प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
यस्तै, आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली कायम रहनेछ। ती क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।