पहाड–हिमालमा वर्षा, तराईमा तातो बढ्ने सम्भावना

hitkhabar.com


काठमाडौं । नेपालमा हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका तथा खोँचहरूमा भने दिनको तापक्रम बढ्दै जाने र तातो महसुस हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति भने देशका हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसमविद्हरूले मेघगर्जन र चट्याङ्गको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया