काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी जिल्लाको पछिल्लो सुरक्षा अवस्था तथा सामाजिक सद्भावसँग सम्बन्धित विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत छलफल गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको हो।
छलफलका क्रममा प्रधानमन्त्री शाहले नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न, शान्ति–सुरक्षा कायम राख्न तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिमाथि कडा निगरानी राख्न निर्देशन दिनुभएको छ। उहाँले सम्भावित जोखिमलाई समयमै नियन्त्रण गर्दै सुरक्षाकर्मीलाई उच्च सतर्कताका साथ परिचालन गर्न सुरक्षा निकायका प्रमुखहरूलाई आग्रह गर्नुभएको छ।
प्रधानमन्त्रीले सुनसरीमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै पनि प्रकारका अवाञ्छित गतिविधिलाई कानुनअनुसार नियन्त्रण गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।