देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान भएन् : कुलमान घिसिङ

hitkhabar.com


दोहा (कतार)  – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र आशा र आत्मविश्वास जगाउने व्यक्तिहरूप्रति सम्मानजनक वातावरण अझै नबनेको बताएका छन् ।

हाल खाडी मुलुकहरूको भ्रमणमा रहेका घिसिङले कतारको दोहामा आयोजित एक सम्मान कार्यक्रममा बोल्दै भने, “जबसम्म आशा र आत्मविश्वास जगाउनेलाई सम्मान गर्ने संस्कार विकास हुँदैन, तबसम्म युवाहरू देशमै टिक्न सक्दैनन् ।”

मध्यपूर्वका विभिन्न मुलुक बहराइन, ओमान, युएई र कतारमा कार्यरत नेपालीहरूलाई भेट्ने क्रममा आयोजित कार्यक्रममा बोल्दै घिसिङले विदेशी भूमिमा पसिना बगाएर पठाएको रेमिट्यान्सले नै नेपालको अर्थतन्त्र धानिएको भए पनि राज्यले श्रम गर्ने नागरिकलाई सम्मान गर्न नसकेको गुनासो पोखे ।

घिसिङले उज्यालो अभियानमार्फत देशभित्र आशा जगाउने प्रयास भएको उल्लेख गर्दै भने, “यो उज्यालो अभियान बत्ती बाल्ने अभियान मात्र हैन, सुशासन, प्रभावकारी सार्वजनिक सेवा, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि आर्थिक क्रान्तिको सुरुवात हो। यसको सफल कार्यान्वयनका लागि नेतृत्व परिवर्तन आवश्यक छ ।”

कतारस्थित नेपाली समुदायले लोडसेडिङ अन्त्य गरी मुलुकको ऊर्जा क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै घिसिङलाई सम्मान गरेको थियो। कार्यक्रममा विभिन्न जातीय तथा सांस्कृतिक झाँकीहरू पनि प्रस्तुत गरिएको थियो ।

यसअघि बहराइनमा समेत नेपाली समुदायले घिसिङलाई विशेष सम्मान प्रदान गरेको थियो ।

प्रतिक्रिया