प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच न्यूयोर्कमा भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि बिहीबार राष्ट्रसंघको मुख्यालयमा महासचिव गुटेरेससँग भेटवार्ता गरेका हुन्। स्थानीय समयअनुसार साँझ ६ः३० बजे भएको भेट नेपाली समयअनुसार शुक्रबार बिहान ४ः१५ बजे भएको थियो।

भेटका क्रममा महासचिव गुटेरेसले भोटेकोशी क्षेत्रमा भएको विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति समवेदना प्रकट गरेका थिए। उनले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीका विषयमा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताए।

गुटेरेसले नेपाली युवा प्रतिनिधिमण्डलको समेत प्रशंसा गरेका थिए। सन् १९७८ मा पर्यटकका रूपमा नेपाल भ्रमण गरेको स्मरण गर्दै उनले आफ्नो कार्यकाल समाप्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।

भेटमा प्रधानमन्त्री शाहले भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी गराएका थिए।

दुई पक्षबीच नदी किनारका बासिन्दाको पुनर्वास तथा हरित पुनर्निर्माणका विषयमा समेत छलफल भएको थियो। त्यस्तै, अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्नका लागि आवश्यक समर्थनका विषयमा पनि कुराकानी भएको जनाइएको छ।

प्रतिक्रिया