काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले आफ्ना तीन अभियन्तालाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।
बुधबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक सुनिल सिंहले अभियानका सदस्य अजय सोडारी, प्रकाश बम र सुनिल बिकलाई विगत आठ दिनदेखि गैरकानुनी रूपमा हिरासतमा राखिएको आरोप लगाए। सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरिसकेको अवस्थामा पनि सरकारले त्यसलाई बेवास्ता गर्दै आलटाल गरिरहेको उनले बताए।
सिंहका अनुसार तीनै जनालाई साउन १२ गते माइतीघर मण्डलबाट नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखिएको हो। उनीहरूलाई तत्काल रिहा नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी पनि उनले दिए।
अभियानले पक्राउ परेका अभियन्तामाथि ‘अभद्र व्यवहार’ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको भनिए पनि वास्तविकता भने राजनीतिक प्रतिशोध भएको दाबी गरेको छ। संयोजक सिंहले गृहमन्त्री सुदन गुरुङमाथि व्यक्तिगत प्रतिशोधका आधारमा गैरन्यायिक रूपमा कारबाही अघि बढाइएको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।
यस्तै, अभियानका प्रवक्ता विर्जन विश्वकर्माले जिल्ला प्रशासन कार्यालयबाट दोस्रो पटक तीन दिनको म्याद थप गरी अनुसन्धानका नाममा गैरन्यायिक थुनामा राखिएको आरोप लगाए। उनका अनुसार पक्राउ परेको भोलिपल्ट अर्थात् साउन १३ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको थियो भने साउन १४ गते अदालतले कारण देखाउ आदेश जारी गरेको थियो। तर, आदेश जारी भएको यतिका दिन बितिसक्दा पनि गृह मन्त्रालय र सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि नबढाएको उनले आरोप लगाए।
अभियानकी अभियन्ता सुप्रिया नेपालीले पहिलो पटक पाँच दिन र दोस्रो पटक तीन दिनको म्याद थप गरेर आफ्ना साथीहरूलाई विनाकारण दुःख दिइएको बताइन्। उनले लघुवित्त पीडितलाई निषेधित क्षेत्र तोड्न उक्साएको आरोप अस्वीकार गर्दै आफूहरू कुनै पनि पीडितको न्यायका पक्षमा आवाज उठाउने अभियानमा रहेको स्पष्ट पारिन्।
उनले समाजमा अशान्ति फैलाउने नभई राज्यलाई खबरदारी गर्ने र पीडितको न्यायका लागि बोल्ने काम मात्र गरेको दाबी गर्दै अदालतको आदेश आएको एक हप्ता बितिसक्दा पनि गृह मन्त्रालय र प्रहरी प्रशासनले ढिलासुस्ती गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन्।