देशभर आंशिकदेखि सामान्य बदली, पहाडी क्षेत्रमा मौसम सक्रिय

hitkhabar.com


काठमाडौं । हाल देशभर पश्चिमी तथा स्थानीय वायूको प्रभावसँगै पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका कारण मौसम प्रभावित बनेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने सुदूरपश्चिमको तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

यस्तै, कोशी, मधेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हावाहुरी र असिनासमेत पर्ने सम्भावनासहित मध्यम वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ। सुदूरपश्चिम तराईका एक–दुई स्थानमा पनि यस्तै किसिमको मौसम देखिन सक्नेछ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। ती प्रदेशका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हावाहुरी र असिनासहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले सम्भावित वर्षा, चट्याङ्ग र हावाहुरीका कारण हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया