काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि कतारका राजदूत महामहिम मिशाल मोहम्मद अल अन्सारीले शिष्टाचार भेटवार्ता गरेका छन्।
बुधबार भएको भेटमा नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध, पाँच दशकदेखिको सहकार्य तथा स्वास्थ्य क्षेत्रमा आपसी सहयोग विस्तार गर्ने विषयमा छलफल भएको हो।
भेटका क्रममा मन्त्री मेहताले हालै रसुवा र गोरखामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कतार सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरिन्।
त्यस्तै, कतारमा कार्यरत नेपाली नागरिकको स्वास्थ्य सुरक्षा र सहज तथा सुलभ स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने विषयमा पनि मन्त्री मेहताले चासो व्यक्त गरिन्। उनले नेपाली श्रमिकले आवश्यक स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिइन्।
भेटमा नेपालमा स्वास्थ्य क्षेत्रको विकासका लागि कतार सरकारसँग सहकार्य गर्न सकिने सम्भावित क्षेत्रबारे समेत छलफल भएको थियो। दुवै पक्षले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा सहयोगका सम्भावनालाई अघि बढाउने र कतारबाट हुने आगामी उच्चस्तरीय भ्रमणका क्रममा सहकार्यका विषयलाई ठोस रूप दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल र कतारबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै स्वास्थ्य सेवासहित विभिन्न क्षेत्रमा पारस्परिक सहयोग विस्तार गर्ने दिशामा भेटवार्तालाई महत्वपूर्ण रूपमा हेरिएको छ।