काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका नवनियुक्त ३४औँ प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ।
दर्ज्यानी चिह्न सुशोभन समारोहमा गृहमन्त्री गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक डा. केसीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
सो अवसरमा गृहमन्त्री गुरुङले मुलुकको शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने, विपद् व्यवस्थापन तथा नागरिक सेवालाई प्रभावकारी बनाउने कार्यमा सक्रियतापूर्वक लाग्न निर्देशन दिनुभएको छ।
उहाँले नागरिकमैत्री व्यवहार अवलम्बन गर्दै प्रहरी सेवालाई थप प्रभावकारी, उत्तरदायी र विश्वसनीय बनाउनुपर्नेमा जोड दिनुभएको छ।
त्यसैगरी, योजनाबद्ध रूपमा व्यावसायिक प्रहरी संगठनको विकास र संस्थागत सुदृढीकरणमा सदैव क्रियाशील रहन नवनियुक्त प्रहरी महानिरीक्षकलाई निर्देशन दिनुभएको छ।
नेपाल प्रहरीको नेतृत्व सम्हाल्नुभएका डा. केसीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनको व्यावसायिकता, अनुशासन र नागरिकप्रतिको उत्तरदायित्व थप मजबुत हुने अपेक्षा गरिएको छ।