बाढी प्रभावित रसुवा र नुवाकोटमा प्राधिकरणले पठायो स्याटेलाइट फोन

hitkhabar.com


काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ।

बाढी प्रभावित क्षेत्रमा नियमित सञ्चार सेवा प्रभावित हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै उद्धार तथा राहतमा खटिएका निकायबीच सञ्चार सम्पर्क कायम राख्न स्याटेलाइट फोन उपलब्ध गराइएको हो।

प्राधिकरणका अनुसार उपलब्ध गराइएका स्याटेलाइट फोनमध्ये १० थान रसुवा र १० थान नुवाकोट जिल्लामा प्रयोग हुनेगरी पठाइएको छ।

स्याटेलाइट फोनको प्रयोगबाट मोबाइल तथा अन्य सञ्चार सेवा अवरुद्ध भएको अवस्थामा समेत सम्बन्धित निकायबीच आवश्यक समन्वय तथा सूचना आदानप्रदान गर्न सहज हुने अपेक्षा गरिएको छ।

भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र आवश्यक समन्वयका लागि सञ्चार सम्पर्कलाई निरन्तरता दिनु चुनौतीपूर्ण बनेको अवस्थामा प्राधिकरणको यो पहलले उद्धार तथा राहत कार्यमा सहयोग पुग्ने बताइएको छ।

प्रतिक्रिया