जलनपीडितलाई २ लाखसम्म निःशुल्क उपचार, अस्पताललाई २ करोड सहयोग

hitkhabar.com


काठमाडौं । काठमाडौं महानगरपालिकाले लक्षित वर्गका जलनपीडितलाई प्रतिव्यक्ति २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार उपलब्ध गराउने भएको छ। जलन उपचारका लागि आवश्यक औजार, उपकरण तथा सेवा विस्तार गर्न महानगरपालिकाले अस्पताललाई २ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको हो।

सामग्री तथा चेक हस्तान्तरण कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुखले जलनका घटना न्यूनीकरणसँगै भवितव्यमा परेका नागरिकले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उपचार कोषको व्यवस्था गरिएको बताउनुभयो।

उहाँले जलनपीडितलाई समयमै अस्पताल पुर्‍याउनुपर्ने अवस्था आउँदा उपचार खर्च जुटाउनकै लागि बिरामीलाई छाडेर आफन्त रकम खोज्न जानुपर्ने परिस्थिति अन्त्य गर्ने उद्देश्यले निःशुल्क उपचारको व्यवस्था गरिएको उल्लेख गर्नुभयो।

कार्यवाहक प्रमुखका अनुसार आगलागी नियन्त्रण तथा उद्धारका क्रममा अग्रपंक्तिमा खटिने अग्नि नियन्त्रक, नगर प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी तथा महानगरवासीलाई जलनबाट जोगिने उपायबारे क्षमता विकास तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

महानगरपालिकाले उपलब्ध गराएको ५ सय एमए क्षमताको डिजिटल एक्सरे मेसिनबाट दैनिक १ सय जनासम्मलाई सेवा दिन सकिने जानकारी पाएपछि आफू खुसी भएको उहाँले बताउनुभयो।

ठूला अस्पतालमा उपचारका लागि आवश्यक पूर्वाधार, उपकरण तथा अन्य सामग्री सहयोग गर्दै आएको महानगरपालिकाले जनाएको छ। वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शिक्षण अस्पताल तथा कान्ति बाल अस्पताललगायत स्वास्थ्य संस्थालाई आवश्यक सहयोग उपलब्ध गराइएको कार्यवाहक प्रमुखले जानकारी दिनुभयो।

नागरिकलाई सहज र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले काठमाडौं महानगरपालिकाले आफ्नै महानगर अस्पताल स्थापना गर्ने तयारीसमेत अघि बढाएको उहाँले बताउनुभयो।

महानगरपालिकाले जलनका घटना हुन नदिन पूर्वतयारी र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिने तथा दुर्घटना भइहालेमा आर्थिक अभावका कारण उपचार रोक्नुपर्ने अवस्था आउन नदिने जनाएको छ।

प्रतिक्रिया