काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।
बैठकमा समसामयिक विषयसँगै पछिल्लो समय बाढीबाट प्रभावित क्षेत्रको अवस्था तथा सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार, उपचार, राहत र पुनःस्थापनाका कार्यबारे छलफल हुने जनाइएको छ।
भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो क्षति भएपछि सरकारले प्रभावितको उद्धार तथा राहतलाई प्राथमिकतामा राख्दै आएको छ।
बाढी प्रभावित नागरिकलाई तत्काल आवश्यक राहत उपलब्ध गराउने, खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने र प्रभावितको पुनःस्थापनाका लागि आवश्यक कदम चाल्ने विषयमा बैठकमा महत्वपूर्ण निर्णय हुन सक्ने बताइएको छ।
सरकारले विपद्बाट प्रभावित नागरिकको सुरक्षा, उपचार तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय गर्दै राहत तथा उद्धारका कामलाई निरन्तरता दिइरहेको छ।