नेपालमा ‘टेलिग्राम’ एप बन्द

hitkhabar.com



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले लोकप्रिय सन्देश आदानप्रदान एप ‘टेलिग्राम’ नेपालभित्र प्रयोग गर्न रोक लगाएको छ ।

आज(शुक्रबार)एक सूचना जारी गर्दै प्राधिकरणले अनलाइन ठगी र मनी लाउन्डरिङ जस्ता गैरकानुनी क्रियाकलापमा टेलिग्राम प्रयोग भएको भन्दै तत्काल सेवा रोक्न सबै इन्टरनेट सेवा प्रदायक (आईएसपी) तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

प्राधिकरणका अनुसार पछिल्लो समय टेलिग्राममार्फत ठगी गर्ने, अनधिकृत कारोबार गर्ने तथा गैरकानुनी रुपमा वित्तीय कारोबार बढेको पाइएको छ ।

“सार्वजनिक हितलाई मध्यनजर गर्दै नेपालभित्र टेलिग्राम एपको पहुँचमा रोक लगाउने निर्णय गरिएको हो,” प्राधिकरणको सूचनामा उल्लेख छ ।

हालसम्म टेलिग्राममा प्रत्यक्ष प्रतिबन्ध नलगाएको सरकारले यस पटक कडा कदम चालेको छ। सेवा प्रदायकले निर्देशनअनुसार एपको प्रयोग रोक्न प्राविधिक तयारी थालेका छन् ।

साइबर अपराध नियन्त्रणमा सरकार गम्भीर देखिएको छ भने प्राधिकरणले सर्वसाधारणलाई पनि सतर्क रहन आग्रह गरेको छ ।




प्रतिक्रिया