काठमाडौं । देशभर हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभावसँगै पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्रको आंशिक असर देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै प्रभावले आज देशका अधिकांश भू–भागमा मौसम बदली रहनेछ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने लुम्बिनी र सुदुरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
मौसमको यस अवस्थाले दैनिक जनजीवन, विशेषगरी सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।