काठमाडौँ । नेकपा एमालेका
सांसद अच्युत प्रसाद मैनालीले पशुपालनमा संलग्न किसानहरूले पाउनुपर्ने करिब ५ अर्ब
रुपैयाँ बराबरको दुग्ध भुक्तानी छ महिनादेखि रोकिएकोप्रति गम्भीर ध्यानाकर्षण
गराएका छन्।
आज (सोमबार) प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद मैनालीले दुग्ध विकास संस्थान (डीडीसी ) र निजी डेरी उद्योगबाट किसानहरूले पाउनुपर्ने रकम भुक्तानीमा ढिलाइ हुनु गम्भीर
समस्या भएको बताए। उनले कृषि मन्त्रालयलाई तत्काल भुक्तानी प्रक्रिया अघि बढाउन
जोड दिए।
सांसद मैनालीले सहुलियतपूर्ण कर्जा रोकिएर किसानहरू समस्यामा परेको उल्लेख
गर्दै दुग्ध उत्पादनको लागत बढ्दो रहेकाले लागत न्यूनीकरणका लागि पालिका तहमा
सशर्त बजेट कार्यक्रम ल्याउन सरकारसँग अनुरोध गरे।
पशु बीमा प्रक्रियामा जटिलता भएको बताउँदै उनले कृषक, बीमा कम्पनी, बीमा प्राधिकरण
र पशु प्राविधिकले एउटै विवरण पटकपटक भर्नुपर्ने झन्झट हटाएर अनलाइन प्रणालीलाई
एकीकृत गर्न अर्थ मन्त्रालय, कृषि मन्त्रालय र सम्बन्धित निकायको ध्यानाकर्षण गराए। साथै
अनुदान सिफारिस पत्र कृषि ज्ञान केन्द्रबाट लिनुपर्ने व्यवस्थालाई स्थानीय तहको
पशु सेवा शाखाबाट उपलब्ध गराउन सरकारसँग माग गरे।
सांसद मैनालीको यो मागले पशुपालन क्षेत्रका किसानहरूको समस्या उजागर गर्दै
तिनको दिगो विकास र सहज सेवा प्रवाहतर्फ सरकारले कदम चाल्नुपर्ने आवश्यकतालाई पुनः
उठाएको छ।