काठमाडौं । अफ्ताव आलमको रिहाइ प्रकरणमा न्यायाधीशलाई कालोमोसो दल्ने अभियोगमा पक्राउ परेका नेकपा (बहुमत)का नेताहरु २८ दिनपछि छुटेपछि पार्टीले उनीहरुलाई सार्वजनिक रूपमा सम्मान तथा अभिनन्दन गरेको छ।
आज (शनिबार) काठमाडौंको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत नेकपा (बहुमत)को बागमती प्रदेश अन्तर्गत ३ नम्बर ब्यूरोले हिरासतबाट मुक्त भएका नेताहरुको स्वागत तथा सम्मान गरेको हो। कार्यक्रममा पार्टीका शीर्ष नेताहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै पार्टीका स्थायी समिति सदस्य उदयबहादुर चलाउने ‘दिपक’ले जनताको न्यायको पक्षमा जोखिम उठाउँदै साहसिक कदम चालेको भन्दै नेताहरुलाई बधाई तथा धन्यवाद दिए। उनले भने, “राज्यका तीनवटै अंगमा भ्रष्टाचार चरम सीमामा पुगेको छ। यस्तो अवस्थामा हाम्रो पार्टीले जनतासँग सरोकार राख्ने मुद्दामा नयाँ संघर्षको बाटो समातेको छ।”
उनले न्यायालय जनउत्तरदायी नभएपछि बाध्य भएर संघर्षमा उत्रिनुपरेको जिकिर गर्दै थपे, “जहाँ अन्याय र अत्याचार हुन्छ, त्यहाँ हाम्रो पार्टी उपस्थिति जनाउँछ। हाम्रा कमरेडहरुले देखाएको हिम्मतलाई सलाम छ।”
२ नम्बर ब्यूरो इन्चार्ज बाबुराम गजमेरले कालोमोसो प्रकरणमा संलग्न नेताहरुले जनपक्षीय कार्य गरेको भन्दै अभिनन्दन व्यक्त गरे। उनले संसदवादी दलहरुले देशलाई भ्रष्टाचार र बेथितिको दलदलमा फसाएको आरोप लगाउँदै नेकपा (बहुमत)ले त्यसविरुद्ध सङ्घर्ष चर्काउने बताए।
कालोमोसो प्रकरणमा संलग्न तथा पार्टीका केन्द्रीय सदस्य अभिनाश कुँवरले प्रहरी हिरासत र कारागारमा बिताएका दिनहरुले धेरै सिकाएको बताए। “हाम्रो बन्द पर्खालको बसाई उत्साहप्रद रह्यो,” उनले भने, “जनताको पक्षमा कालोमोसो मात्र हैन, अपराधीहरूमाथि अझ कठोर कारबाही गर्न तयार छौं।”
त्यस्तै अर्का संलग्न सदस्य तथा केन्द्रीय नेता पदम मगरले देशमा अन्याय र अत्याचार बढ्दै गएकाले त्यसविरुद्ध निडरताका साथ अघि बढ्ने प्रतिबद्धता जनाए।
गत जेठ २९ गते बीरगञ्ज उच्च अदालतको इजलासभित्र अभिनाश कुँवर, पदम मगर र गर्भू महतोले न्यायाधीश खुसिराम थारु र अर्जुन महर्जनलाई कालोमोसो दल्दै तीव्र विरोध जनाएका थिए। उनीहरुको उक्त कदमपछि देशभरबाट न्यायालयको निर्णयविरुद्ध आलोचना र समर्थन दुबै आएका थिए।
कार्यक्रमको सञ्चालन चितवन जिल्ला इन्चार्ज पूर्ण विकले गरेका थिए। कार्यक्रममा पार्टी स्थायी समिति सदस्य डीडी पाण्डे, निर्मलसहित विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।