काठमाडौं । पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यास अभावको समस्यालाई लिएर मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल सम्पन्न भएको छ।
छलफलमा विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल आयल निगमका पदाधिकारी तथा ग्यास उद्योगीहरूको सहभागिता रहेको थियो। बैठकमा ग्यास अभाव देखिनुको कारण र तत्काल समाधानका उपायबारे विस्तृत छलफल गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
छलफलका क्रममा व्यवसायीहरूले बजारमा ग्यासको वास्तविक अभाव नभएको तर आधा सिलिन्डरबाट पुनः भरी सिलिन्डर वितरण सुरु भएपछि उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्न थालेकाले माग एक्कासि बढेको जानकारी गराएका थिए।
बैठकले देखिएको समस्यालाई सम्बोधन गर्न तथा आगामी चाडपर्व लक्षित गर्दै ग्यास आयात बढाउने, वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने र सम्बन्धित निकायहरूबीच आवश्यक समन्वयलाई सुदृढ गर्ने निर्णय गरेको छ।
मुख्य सचिव कार्कीले ग्यास आपूर्तिसम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि सरोकारवाला निकायसँग आगामी दिनमा पनि निरन्तर छलफल तथा समन्वयलाई अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्।