काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि दलित बालबालिकालाई प्रदान गरिँदै आएको पोषण भत्ता दोब्बर बनाउने घोषणा गरेको छ।
शुक्रबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दलित बालबालिकाको पोषण तथा स्वास्थ्य अवस्थालाई थप सुदृढ बनाउन पोषण भत्ताको रकम वृद्धि गरिने जानकारी दिएका हुन्।
त्यसैगरी, उच्च गरिबी दर तथा मानव विकास सूचकाङ्कमा पछाडि परेका मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका २० जिल्लाका बालबालिकालाई उपलब्ध गराइँदै आएको पोषण भत्ता कार्यक्रमलाई पनि आगामी वर्ष निरन्तरता दिइने सरकारले जनाएको छ।
सरकारले बालबालिकाको पोषण अवस्था सुधार, कुपोषण न्यूनीकरण तथा सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने उद्देश्यसहित उक्त व्यवस्था गरेको जनाएको छ।
29 May 2026