एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले भारत र चीनलाई प्रतिद्वन्द्वी नभई सहयोगी साझेदारको रुपमा लिनुपर्ने बताएका छन् । उनले दुई देशबीचको सम्बन्ध खतरा नभई विकासका अवसरका रुपमा उपयोग गर्न सकिने उल्लेख गरे ।
आइतबार र सोमबार हुने शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलन २०२५ अघि राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच उत्तरी चिनियाँ बन्दरगाह शहर तियानजिनमा भेटवार्ता भएको थियो ।
राष्ट्रपति सीले गत वर्ष मोदीसँग भएको सफल भेटघाटको स्मरण गर्दै त्यसले चीन–भारत सम्बन्धलाई पुनःस्थापित गर्न र नयाँ सुरुवात गर्न मद्दत गरेको बताए । उनले दुई देशबीच आदानप्रदान र सहयोगमा नयाँ प्रगति भएको उल्लेख गरे ।
सीका अनुसार चीन र भारत विश्वका सबैभन्दा पुराना सभ्यता र सबैभन्दा बढी जनसंख्या भएका देश मात्रै नभई ग्लोबल साउथका महत्त्वपूर्ण सदस्य पनि हुन् । उनले दुई देशले जनताको जीवनस्तर सुधार गर्ने, विकासशील राष्ट्रहरूको एकता प्रवर्द्धन गर्ने र मानव समाजको प्रगतिलाई अगाडि बढाउने जिम्मेवारी बोकेको बताए ।
यस अवसरमा उनले चीन–भारतले राम्रो छिमेकी बनेर एकअर्कालाई सफल बनाउन सहयोगी बन्नुपर्ने धारणा राखे । साथै, यस वर्ष चीन–भारत कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वार्षिकोत्सव भएकाले द्विपक्षीय सम्बन्धलाई दीर्घकालीन रणनीतिक दृष्टिकोणबाट अघि बढाउनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री मोदीले पनि भारत र चीन प्रतिद्वन्द्वी नभई साझेदार भएको दोहोर्याए । उनले भारत द्विपक्षीय सम्बन्धलाई दीर्घकालीन दृष्टिकोणबाट विकास गर्न तयार रहेको बताए ।
उनले पारस्परिक विश्वास, सम्मान र संवेदनशीलताको सिद्धान्तमा आधारित सम्बन्धलाई अगाडि बढाउने भारतको प्रतिबद्धता रहेको बताए । गत वर्ष कजानमा भएको वार्तापछि सीमा विच्छेदन, कैलाश मानसरोवर तीर्थयात्रा मार्ग पुनः खोल्ने र प्रत्यक्ष उडान पुनः सुरु गर्ने विषयमा प्रगति भएको स्मरण गरे । (एएनआइ/सीसीटीभीप्लस)