काठमाडौं । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावका कारण आज देशका विभिन्न हिमाली तथा पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागमा पनि आंशिक बदली हुने महाशाखाले जनाएको छ।
त्यस्तै, मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
आज दिउँसो देशका हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज राति देशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने तथा बाँकी पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
राति तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिइन्छ।