काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदहरूले राख्ने स्वकीय सचिव (शाखा अधिकृत सरह) को नियुक्तिलाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन विस्तृत आन्तरिक निर्देशन जारी गरेको छ।
हालै मन्त्रिपरिषद्ले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची–२ संशोधन गरेपछि संघीय सांसदले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था लागू भएको छ। सोही व्यवस्थालाई व्यवस्थित बनाउन रास्वपाले आफ्ना सांसदहरूका लागि नयाँ मापदण्ड तय गरेको हो।
निर्देशनअनुसार स्वकीय सचिव नियुक्त गर्दा एकाघरका सदस्य वा नजिकका नातेदारलाई नियुक्त गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। उम्मेदवारले कम्तीमा स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ भने सम्बन्धित क्षेत्रमा दक्षता, अनुसन्धान क्षमता, प्रविधिमैत्री सीप तथा पार्टीका मूल्य–मान्यताप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ।
योग्यता पुगेका उम्मेदवारमध्ये महिला, सीमान्तकृत समुदाय र पछाडि पारिएका वर्गलाई प्राथमिकता दिने व्यवस्था गरिएको छ। साथै नियुक्त हुने व्यक्तिले अन्य कुनै सरकारी वा गैरसरकारी संस्थामा पूर्णकालीन रोजगारी नगरेको तथा दोहोरो आर्थिक सुविधा नलिएको हुनुपर्नेछ।
रास्वपाले स्वकीय सचिवको छनोट सार्वजनिक आह्वान वा खुला प्रतिस्पर्धामार्फत गर्नुपर्ने व्यवस्था गरेको छ। सांसदले छनोट गरेको उम्मेदवारलाई नियुक्ति दिनुअघि संसदीय दलबाट अनिवार्य रूपमा अन्तिम स्वीकृति लिनुपर्नेछ।
निर्देशनमा स्वकीय सचिवको पारिश्रमिकबाट कुनै पनि प्रकारको रकम कट्टा, असुली वा हिनामिना गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ। पारिश्रमिक सिधै सम्बन्धित स्वकीय सचिवको बैंक खातामा जम्मा हुने व्यवस्था सुनिश्चित गर्न पनि सांसदहरूलाई निर्देशन दिइएको छ।
त्यस्तै, नियुक्त स्वकीय सचिवको व्यक्तिगत विवरण र शैक्षिक योग्यताका प्रमाणपत्र संघीय संसद् सचिवालय तथा पार्टीको केन्द्रीय कार्यालयमा दर्ता गराउनुपर्ने, कार्यसम्पादनको नियमित मूल्याङ्कन गरी संसदीय दलमा प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ। सांसदको कामकारबाही तथा पार्टीका आन्तरिक विषयमा पूर्ण गोपनीयता कायम गर्नुपर्ने दायित्व पनि स्वकीय सचिवलाई तोकिएको छ।
रास्वपाले नातेदार नियुक्त गर्ने, कागजी रूपमा मात्र स्वकीय सचिव देखाई सुविधा लिने वा आर्थिक अनियमितता गर्ने कार्यमा शून्य सहनशीलता अपनाइने जनाएको छ। यस्ता गतिविधि भेटिएमा पार्टीको केन्द्रीय अनुशासन समितिमार्फत तत्काल कारबाही गरिने उल्लेख गरिएको छ।
यस्तै, कार्यसम्पादन सन्तोषजनक नभए, पदीय आचरण उल्लङ्घन गरे वा गोपनीयता भंग गरेमा सम्बन्धित सांसदले संसदीय दललाई जानकारी गराई जुनसुकै बेला स्वकीय सचिवलाई पदमुक्त गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
रास्वपाले स्वकीय सचिवका लागि दरखास्त आह्वान गर्न साझा र आधिकारिक विज्ञापन ढाँचा पनि तयार गर्ने जनाएको छ। नयाँ स्वकीय सचिव नियुक्तिका लागि पार्टीका सबै सांसदहरूले सोही साझा ढाँचामार्फत सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था गरिएको छ।