केही प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ। मधेश प्रदेशका अधिकांश क्षेत्र तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा पनि आंशिक बदली रहने जनाइएको छ भने बाँकी तराई क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै मधेश प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।

महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा तातो दिनको सम्भावना रहेको उल्लेख गर्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली कायम रहनेछ। ती प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया