पहाडी क्षेत्रमा वर्षा र हिमपात, तराईका केही स्थानमा तातो दिन हुने

hitkhabar.com


काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने तराईका भू–भागमा आंशिक बदली रहनेछ।

कोशी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा भने तातो दिन हुने सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने तथा बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

रातिको समयमा पनि कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया