काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ काशानगरमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग सरकारले ६ बुँदे सहमति गरेको छ।
गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता घटनास्थल पुगेर पीडित परिवारसँग गरेको छलफलपछि उक्त सहमति भएको हो। साउन १४ गते भएको सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री तथा मृतकका अभिभावकबीच हस्ताक्षर भएको जनाइएको छ।
सहमतिअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने, साथै प्रत्येक मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
यस्तै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने, देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियतबारे आवश्यक छानबिन गरिने तथा प्रत्येक मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने विषय पनि सहमतिमा समेटिएको छ।
त्यसैगरी, घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनमा समेटिएका सुझाव कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइने र मृतकहरूको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गरिने उल्लेख गरिएको छ।
घटनापछि समाधानको पहलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहताले सक्रिय भूमिका निर्वाह गरेको बताइएको छ। उहाँले गृह मन्त्रालय, सुरक्षा निकाय, स्थानीय तह तथा पीडित परिवारसँग निरन्तर समन्वय गर्दै वार्ताको वातावरण बनाउन पहल गर्नुभएको थियो। यसअघि दुवै मन्त्रीले अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उपचार व्यवस्थालाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका थिए।
सरकार र पीडित परिवारबीच सहमति भएसँगै मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको आज दिउँसो २ बजे अन्त्येष्टि गरिने तयारी गरिएको छ।