काठमाडौं । नबिल बैंक लिमिटेडलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) बाट ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४’ अन्तर्गत गोल्ड अवार्ड प्रदान गरिएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहमा महालेखापरीक्षक तोयम रायले नबिल बैंकका प्रमुख वित्तीय अधिकृत सन्दिप बाबु पौडेललाई अवार्ड हस्तान्तरण गरेका हुन्।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०८०/८१ मा प्रकाशित वार्षिक प्रतिवेदनको मूल्यांकन गर्दै वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका मापदण्डमा उत्कृष्ट ठहर गर्दै नबिल बैंकलाई सम्मानित गरेको हो । यसअघि आर्थिक वर्ष २०७९/८० मा पनि बैंकले यही अवार्ड हात पारेको थियो ।
उक्त अवार्ड प्राप्त गरेसँगै नबिल बैंकको वार्षिक प्रतिवेदन दक्षिण एसियाली स्तरको ‘साफा बिपिए अवार्ड’ का लागि समेत नेपालको तर्फबाट मनोनयनमा पर्नेछ । उक्त अवार्ड साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (SAFA) ले प्रदान गर्छ ।
नबिल बैंकले लगातार दुई वर्षसम्म गोल्ड अवार्ड हात पार्दै बैंकिङ क्षेत्रको पारदर्शिता र सुशासनमा आफ्नो प्रतिबद्धता दर्शाएको छ ।