काठमाडौं । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका थप दुई जना कैदी पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा जाजरकोटको बारेकोट गाउँपालिका–१ घर भएका २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ घर भएका २८ वर्षीय धनबहादुर भन्ने हरिबहादुर बुढा रहेका छन् ।
प्रहरीका अनुसार १२ वर्ष कैद सजाय तोकिएका यज्ञ विकको १० वर्ष ८ महिना कैद भुक्तान गर्न बाँकी छ । त्यस्तै, १२ वर्ष कैद सजाय पाएका हरिबहादुर बुढाको ९ वर्ष ५ महिना कैद भुक्तान गर्न बाँकी रहेको छ ।
आज खोजतलास गर्ने क्रममा उनीहरूलाई डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ्ग गाउँनजिकैको जंगलमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कारागारबाट फरार भएका कैदी तथा थुनुवामध्ये हालसम्म ६ जना पक्राउ परिसकेका छन् । अझै फरार रहेका दुई जना थुनुवाको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।